अन्तरिम सरकारको मन्त्री बने घिसिङ
३० भदौ, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा सफल कार्यकाल पूरा गरिसकेका कुलमान घिसिङलाई जलस्रोत तथा उर्जा मन्त्रीमा नियुक्त गरेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मन्त्रिपरिषद्मा सामेल गर्ने प्रधानमन्त्रीको सिफारिस स्वीकृत गरी शपथग्रहण गराएका हुन् ।
घिसिङ विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा लोडसेडिङ अन्त्य गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेका व्यक्ति हुन् । उनको व्यवस्थापन क्षमता र दीर्घकालीन दृष्टिकोणका कारण नेपालले ऊर्जा क्षेत्रमा आमूल परिवर्तन अनुभव गरेको थियो । विशेषगरी जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार र विद्युत् व्यापारका क्षेत्रमा उनले देखाएको सक्रियताले नेपाललाई ऊर्जा आत्मनिर्भरता र निर्यातको दिशातर्फ अघि बढाएको छ ।
नवनियुक्त मन्त्री घिसिङले पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै ऊर्जा क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र दीर्घकालीन नीतिगत आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने नेपालसँग पर्याप्त जलस्रोत छ । यो स्रोतको वैज्ञानिक उपयोगमार्फत देशलाई समृद्ध बनाउन सकिन्छ । अबको प्राथमिकता ऊर्जा सुरक्षासँगै विद्युत् निर्यात र घरेलु उपभोगमा सहजता ल्याउने हुनेछ ।
विशेषज्ञहरूका अनुसार घिसिङको मन्त्री पदमा आगमनले लामो समयदेखि अल्झिएका ठूला जलविद्युत् आयोजना, क्षेत्रीय विद्युत् व्यापार सम्झौता र ऊर्जा नीति कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ । ऊर्जा मन्त्रालयको नेतृत्व प्राविधिक पृष्ठभूमिका दक्ष व्यक्तिका हातमा पुगेपछि यस क्षेत्रको सुधार र दीर्घकालीन योजनालाई नयाँ उचाइ दिने विश्वास गरिएको छ ।