प्रचण्डको राजीनामाको माग : भित्री संघर्ष वा बाह्य दबाब
१० असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामाको विषयले चर्चा पाएको छ । तर सचिव लिलामणि पोख्रेलले यो माग पार्टीभित्रको होइन, बाहिरी पात्रहरूको रहेको बताएका छन् । उनले भने -राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको हो, जेनजी होइनन् । त्यसैले त्यो पूरा हुँदैन ।
अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने र आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । उनले आत्मालोचना, नातागोतावाद अन्त्य र सुधारको प्रतिवद्धता सहित पार्टीलाई नयाँ ढाँचामा लैजानुपर्ने आवश्यकता औंल्याएका छन् ।
बैठकमा भने फरक–फरक धारणा आएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् भने उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारीलाई निर्देशक समितिमा रूपान्तरण गरेर नयाँ टिम ल्याउनुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । यसरी सचिव राम कार्कीले प्रचण्ड, श्रेष्ठ र शर्माको प्रस्तावभन्दा अलग धारणा राख्दै प्रदेश अध्यक्ष र संयोजन समिति बनाएर महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन् ।
लुम्बिनी प्रदेशले अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पूर्ण समर्थन गरेको छ भने उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जानुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ । अन्य नेताहरू नन्दकिशोर पुन, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा र मातृका यादवलगायतले पनि आफ्ना धारणा राखेका छन् ।
बैठकमा देखिएका विभिन्न प्रस्तावहरूले माओवादी केन्द्रभित्र नेतृत्व संक्रमण र संगठनात्मक पुनर्गठनको बहसलाई अझ प्रस्ट पारेको छ । राजीनामाको माग बाह्य पात्रहरूको रहेको भनिए पनि पार्टीभित्र महाधिवेशन कहिले र कसरी गर्ने भन्ने प्रश्न नै अहिलेको मुख्य चुनौती बनेको छ । साथै, समग्र विघटनको स्थितिमा यथास्थितिमा पुनर्गठन गरे वा नगरे पनि विष्फोट हुने विश्लेषकहरु बताउँछन् ।