माओवादी केन्द्रको सातौं पूर्ण बैठक सम्पन्न, महाधिवेशन मंसिरमा
१० असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सातौं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले पार्टीलाई आगामी महाधिवेशनसम्म रूपान्तरण गर्ने महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय समितिलाई अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आगामी मंसिरमा महाधिवेशन गर्ने तयारीसहित यस प्रक्रियालाई निरन्तर अघि बढाउने सहमति जुटाइएको छ ।
पार्टीभित्र अनुशासन र पारदर्शिता कायम गर्न विशेष जोड दिइएको छ । यसअन्तर्गत नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने, कार्यशैली, संस्कार र चालचलन सम्बन्धी नीति निर्माण गर्ने निर्णय गरिएको छ । पार्टीमा उठेको नेपोटिज्मको आरोप सम्बोधन गर्न पारिवारिक सदस्यहरूको संलग्नतामाथि कार्यविधि बनाएर व्यवस्थित गर्ने योजना पनि अघि सारिएको छ ।
बैठकले जेन–जेडसहित सबै तहका युवालाई पार्टीका कमिटीहरूमा अधिकतम सहभागिता दिलाउने, आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने र संगठनात्मक संरचनामा युवा तथा प्राविधिक क्षमताको उपयोग गर्ने निर्णय गरेको छ ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव पारित गरिएको छ भने वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेका सुझावलाई समेत समेट्दै महाधिवेशनसम्म निरन्तर छलफल गर्दै लैजाने निष्कर्ष निकालिएको छ । साथै, विचार मिल्ने दलहरूसँग पार्टी एकताको पहललाई निरन्तर अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
यसरी सातौं पूर्ण बैठकले माओवादी केन्द्रलाई संगठनात्मक रूपान्तरण, पारदर्शिता, युवा–केन्द्रित नीतिहरू र पार्टी एकताको दिशामा अघि बढाउने रणनीति तय गरेको छ ।