कक्षा १२ को परीक्षा सन्दर्भमा फैलिएको भ्रमप्रति राष्ट्रिय परीक्षा बोर्डको खण्डन

0 5

५ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को वार्षिक परीक्षा सन्दर्भमा विभिन्न सामाजिक सञ्जालमार्फत फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक जानकारी बोर्डको वेबसाइटमार्फत मात्र प्राप्त गर्न आग्रह गरेको छ ।

बोर्डले सार्वजनिक गरेको विज्ञप्तिमा परीक्षा तालिका परिवर्तन गरिएको भन्ने खालका झुटा र भ्रामक सूचनाहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको भन्दै परीक्षार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूलाई यस्ता सूचनाबाट भ्रमित नहुन आग्रह गरिएको छ ।

“परीक्षासम्बन्धी सबै आधिकारिक जानकारी बोर्डको वेबसाइट www.neb.gov.np मार्फत मात्र प्रदान गरिनेछ,” विज्ञप्तिमा भनिएको छ, “अन्य माध्यम वा स्रोतबाट आएको सूचना प्रमाणित नहुने भएकाले त्यसलाई विश्वास नगर्न अनुरोध गर्दछौं ।”

बोर्डले आफ्नो अध्यक्षको हस्ताक्षरसहितको स्क्यान गरिएको सूचना मात्र मान्य हुने र आवश्यक कार्य सम्पादनका लागि सोही आधारमा अघि बढ्नुपर्ने स्पष्ट पारेको छ ।

यसै सन्दर्भमा बोर्डले देशभरका सबै परीक्षा केन्द्रहरूमा परीक्षा तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै परीक्षार्थीलाई निर्धारित मिति, समय र केन्द्रअनुसार परीक्षा दिन अपिल गरेको छ ।

सम्बन्धित
Loading...