गाँजी सामुदायिक वनमा काठ तस्करीको खेल? स्थानीयको आक्रोश : समितिको आडमा गैरकानुनी धन्दा
६ बैशाख , बाँके । बाँके जिल्लाको नरैनापुरस्थित गाजी सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वमै काठ तस्करी भइरहेको आरोप स्थानीयवासीले कडा स्वरमा लगाएका छन् । जंगल हाम्रो हो, संरक्षण हाम्रो जिम्मा, तर तस्करी पनि हाम्रो नाममा? आक्रोशित एक उपभोक्ताको यही प्रश्न अहिले सामाजिक सञ्जालदेखि गाउँका चोकचौतारासम्म गुन्जिरहेको छ ।
स्थानीयका अनुसार वन उपभोक्ता समितिका अध्यक्ष लगायत स्वयंले वन क्षेत्रबाट गैरकानुनी रूपमा काठ काटिएको ल्याउँदै गरेको अवस्थामा समातेर प्रहरीको जिम्मा लगाएका थिए । तर चकित पार्ने तरिकाले उक्त काठलाई ‘बेवारिसे’ घोषणा गरियो र संलग्न व्यक्तिहरू निर्दोष सावित गरिए ।
हामी आँखा बन्द गरेर हेर्न सक्दैनौं, हाम्रो सामुदायिक सम्पत्ति लुटिँदैछ, र कानुन मौन छ, स्थानीय युवा अधिकारकर्मी सन्जय चौधरी भन्छन्, समितिको नेतृत्वमा रहेको समूहले सशस्त्र वनको संरक्षण गर्ने होइन, तस्करी गर्ने हतियार बनाएको छ ।
घटनापछि प्रहरी प्रशासन र डिभिजन वन कार्यालयको भूमिकाप्रति पनि गम्भीर प्रश्न उठेको छ । “स्थानीयले प्रमाणसहित समातेका तस्करहरूलाई निर्दोष देखाउने प्रक्रिया आफैमा संलग्नताको संकेत होइन र?” एक वृद्ध उपभोक्ताको प्रतिक्रिया थियो ।
गाउँलेहरू प्रश्न गर्छन् – समिति, प्रहरी र वन कार्यालय मिलेर ‘उपभोक्ताको नाममा’ सम्पूर्ण वन क्षेत्रलाई लुट्ने षड्यन्त्र त गरिँदै छैन? काठ तस्करी कुनै व्यक्तिगत कार्य होइन, यसको पछाडि सञ्जाल हुन्छ र त्यही सञ्जालमा सामुदायिक संस्था गुज्रिएको देखिएको छ ।
यदि उपभोक्ता आफैले तस्करीविरुद्ध उत्रनुपर्छ भने समिति नामको संरचना किन? अनि अपराधी बेवारिसे बनाउने प्रवृत्तिले भविष्यमा कसरी जनताले कानूनी प्रणालीमा विश्वास बस्ने?
स्थानीय सरकार र सरोकारवाला निकाय अब मौन बस्न सक्दैनन् । अनुसन्धान, जवाफदेही र कारबाही अब ढिला गर्नु भनेको यस्ता तस्करीहरूलाई संरक्षण गर्नु हो ।