सरकारको निरंकुश प्रवृत्तिविरुद्ध लिङ्देनको आवाज : ‘यो शान्तिपूर्ण र प्रतीकात्मक विरोध हो’
७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लोकतन्त्रको नाममा निरंकुशता लाद्न खोजेको भन्दै तीव्र आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत एक सशक्त सन्देश जारी गर्दै जनअधिकारको सीमांकन र दमनकारी प्रवृत्तिको विरोधमा आफूहरूले शान्तिपूर्ण र प्रतीकात्मक प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
लिङ्देनले लेखेका छन्, “भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।”
उनले भनेको यो भनाइ पछिल्लो समय सरकारले विभिन्न राजनीतिक गतिविधिमाथि लगाएको प्रतिबन्ध र निषेधाज्ञालाई लक्षित गर्दै आएको देखिन्छ । राजनीतिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सभा-प्रदर्शनको अधिकारमाथि सरकारले अंकुश लगाउन खोजिरहेको लिङ्देनको आरोप छ ।
लिङ्देनका अनुसार प्रस्तावित प्रदर्शनमा ठूला जनसङ्ख्या सहभागी गराइने छैन । बरु, नेतृत्व तहका केही सीमित नेता र पार्टी पदाधिकारीहरू मात्रै उपस्थित रहनेछन् । उनीहरू जनअधिकारको संरक्षण र निरंकुश प्रवृत्तिको विरोधमा आफ्नो सशक्त सन्देश दिन चाहन्छन् । उनले स्पष्ट रूपमा प्रदर्शनलाई ‘शान्तिपूर्ण र प्रतीकात्मक’ भनेका छन्, जसबाट कुनै किसिमको अराजकता सिर्जना नहोस् भन्ने उद्देश्य लिइएको बुझिन्छ ।
हालसम्म सरकारले लिङ्देनको भनाइ वा प्रस्तावित प्रदर्शनमाथि कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । तर, विगतमा यस्ता विरोध प्रदर्शनप्रति सुरक्षा संयन्त्र सतर्क र संवेदनशील देखिएको छ । राजनीतिक विश्लेषकहरू भन्छन्, पछिल्ला दिनहरूमा सरकारप्रति बढ्दो असन्तुष्टि केवल प्रतिपक्षी दलहरूमा मात्र सीमित छैन, नागरिक समाज, मिडिया र आम जनता पनि अभिव्यक्ति स्वतन्त्रताको खुम्चिंदो दायराबाट चिन्तित छन् ।
लिङ्देनको भनाइबाट उठेको मूल प्रश्न भनेको हो के नेपालमा लोकतन्त्र केवल नामको मात्र हो? उनले उठाएको सवाल जनताले बोल्न, सोँच्न र हिँड्न पनि अनुमति लिनुपर्ने अवस्थाले लोकतन्त्रको मर्मलाई चुनौती दिएको संकेत गर्छ ।
राजनीतिक असहमति र आलोचनालाई दबाउने प्रयास सच्चा लोकतन्त्रको लक्षण होइन भन्ने सन्देश लिङ्देनको भनाइले दिन खोजेको देखिन्छ । जेसुकै भएपनि राजेन्द्र लिङ्देनले समाजलाई पछाडि फर्काउन खोजेको आरोप छ । यसर्थ विश्लेषकहरु भन्छन्- समाज पछाडि फर्किन त्यो नियम होइन, बरु पुनस्र्त्थानवादीहरुको दुस्साहस मात्र हो । अब हेर्न बाँकी छ सरकारले यसको जवाफ कसरी दिन्छ ।