भारतीय एसएसबीद्वारा पुनः सीमाना उल्लंघन र नेपाल प्रहरीमाथि दुर्व्यवहार

0 10
Oplus_0

१६ वैशाख, राष्ट्रिय ।  यतिबेला फेरी भारतीय सुरक्षा बल (एसएसबी) को एक टोलीले नेपालको सार्वभौम सीमामाथि गम्भीर अतिक्रमण गर्दै र विभिन्न सिमानाको तारबार भत्काउदै आएको छ । नेपाली भूमिमा अतिक्रमण मात्रै होइन, एसएसबीका जवानहरूले सुरक्षार्थ खटिएका नेपाल प्रहरीमाथि नै दुर्व्यवहार समेत गर्दै आएका छन् ।

सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका अनुसार नेपाली भूमि भित्रै प्रवेश गरेर एसएसबी टोलीले बलपूर्वक सीमास्तम्भ आसपासको संरचना तोडफोड गर्ने र नेपाल प्रहरीलाई उल्टै अपमानजनक व्यवहार गरिरहेका छ्न ।

यस प्रकारको घटनाले नेपालको स्वाभिमानमा मात्र चोट पुर्‍याएको छैन । यसले त स्वाभिमान नै गुमाउने खतरा बढेको छ । यता सरकारको मौनता र कायरताले अझै गम्भीर शंका उत्पन्न गराएको छ । यसरी एकातिर राष्ट्रिय संकटको कुरा त छदैछ, अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार, जो भारतीय दबाबमा निरन्तर झुकेको आरोप खेप्दै आएको छ । यस्तो अतिक्रमणबारे चुप रहँदा आम जनमानसमा आक्रोश चुलिएको छ ।

केपी ओलीदेखि लिएर देउवा र दाहालजस्ता नेताहरूले ‘राष्ट्रवाद’लाई चुनावी हतियार बनाए पनि व्यवहारमा तिनीहरू भारतीय विस्तारवादका मौन सहयोगी मात्र सावित भएका छन । सीमा रक्षा गर्नुको सट्टा उनीहरू सत्ताका लागि नैतिकता, अस्मिता र स्वतन्त्रताको बलि चढाइरहेका छन् ।

नेपालको भौगोलिक अखण्डतामाथि बारम्बार भइरहेको हमला तथा सुरक्षाकर्मीमाथिको अपमान र नागरिकमाथिको आक्रमणले के देखाउछ ? कि सरकार फेरि पनि “सम्झौता र संयमता” को खोक्रो गफमा सीमित हुनेछ? अब समय छ, जनताले आफ्ना स्वाभिमान बेच्ने नेताहरूको पोल खोल्ने । यदि सरकार मौन बसिरहन्छ भने, यो केवल कमजोरी होइन राष्ट्रिय आत्मसमर्पणको संकेत हो । यो स्थितिमा राष्ट्रिय मुक्तिको अभियानमा देशभक्त गोलबद्ध हुनैपर्ने स्थिति सिर्जना भएको छ ।

सम्बन्धित
Loading...