क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता भीमलाल काफ्लेको राजीनामा : चार दशक लामो राजनीतिक यात्रा त्याग
९ असार, काठमाडौं । चार दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेर क्रान्तिकारी धारको पक्षमा निरन्तर संघर्ष गर्दै आएका नेता भीमलाल काफ्लेले अन्ततः क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट औपचारिक राजीनामा दिएका छन् ।
२०३६ सालदेखि तत्कालीन मशाल संगठनसँग आबद्ध भई २०४२ सालमा पार्टी सदस्यता लिएका काफ्लेले सोमबार सार्वजनिक विज्ञप्ति जारी गर्दै आफ्नो राजनीतिक पृष्ठभूमि, संघर्षका उतारचढाव र पछिल्लो निर्णयबारे विस्तृत जानकारी दिएका हुन् ।
काफ्लेका अनुसार २०५२ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सुरु गरेको सशस्त्र जनयुद्धमा उनी २०५३ सालमा दोलखाबाट संगठित भएका थिए । त्यही समयमा तत्कालीन कमाण्डर ऋतबहादुर खड्काले उनलाई औपचारिक रुपमा संगठित गरेको स्मरण गरेका छन् ।
तर, २०५८ सालदेखि नेकपा (माओवादी) भित्र गलत प्रवृत्तिहरू मौलाउँदै गएका र व्यक्तिगत प्रतिशोध, हत्या र आपराधिक गतिविधि सुरु भएपछि उनले पार्टी जिम्मेवारी त्यागेको दाबी गरेका छन् । त्यसयता उनले राजनीतिक आत्मसमीक्षा र वैचारिक अध्ययनमार्फत गलत धार छोडेर नयाँ बाटो रोजेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, “जनयुद्धको मूल उद्देश्य बिर्सिएर हत्या र द्वन्द्वलाई व्यक्तिवादी हिसाबले प्रयोग गरिन थालियो । मैले क्रान्तिको नाममा हुने विकृति स्वीकार गर्न सकिनँ ।”
उनका अनुसार त्यसपछि मसाल फुटेर बनेको नेकपा (एकीकृत) हुँदै, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र नेकपा (एकीकृत)बीच एकता भई बनेको नेकपा (क्रान्तिकारी माओवादी) मा उनी सक्रिय रहे । त्यसपछि विप्लव नेतृत्वको नेकपा (बहुमत) र मशाल फुटेर बनेको अर्को समूहसँग एकता भई बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा हालसम्म निरन्तर कार्यरत थिए ।
तर, पछिल्ला दिनहरूमा पार्टीभित्र फेरि उस्तै गलत प्रवृत्ति दोहोरिएको, राजनीतिक दिशाहीनता बढेको र क्रान्तिकारी निष्ठामा विचलन देखिन थालेपछि उनले पार्टी परित्यागको निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । यसरी काफ्लेले आफ्नो विज्ञप्तिमा भनेका छन्- “पार्टीभित्रको गुटबन्दी, वैचारिक विचलन र एकता विरोधी प्रवृत्तिका कारण आन्दोलन दिशाहीन बन्दै गएको छ । म यस्तो स्थितिमा रहन सक्दिनँ ।”
उनले समग्र कम्युनिस्ट आन्दोलनको एकता, क्रान्तिको सही दिशा र जनताको मुक्तिको पक्षमा लागिरहने प्रतिबद्धता दोहोर्याउँदै राजनीतिक यात्राबाट पूरै विश्राम नलिएको पनि स्पष्ट पारेका छन् ।
“राजनीतिक संगठन र विचार फरक कुरा हुन् । म सही विचार र जनपक्षीय क्रान्तिकारी धारा कायम राख्न जहाँ रहेपनि निरन्तर लागिरहनेछु,” काफ्लेले विज्ञप्तिमा उल्लेख गरेका छन् । तर राजनीतिक यात्रामा सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद दिएका छन् ।
