भिजिट भिसा काण्डको घेरामा रास्वपा, कार्यबाहक सभापति डीपी अर्यालमाथि संलग्नताको आरोप, सुमिरे ट्राभल्सको छानबिन माग

0 10
Oplus_0

१६ असार, काठमाडौं । भिजिट भिसाका नाममा भइरहेको अनियमितताको घेरामा अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मुछिएको छ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालको प्रत्यक्ष संलग्नता रहेको दाबी गर्दै सनसनीपूर्ण आरोप सार्वजनिक गरेका छन् ।

सांसद खतिवडाले सुमिरे ट्राभल्स एण्ड टुर्स नामक कम्पनीमार्फत व्यापक आर्थिक लेनदेन, भिजिट भिसाको नाममा दलाल धन्दा र संगठित आपराधिक गतिविधि सञ्चालन भइरहेको उल्लेख गर्दै तत्काल गहिरो छानबिनको माग गरे । “सुमिरे ट्राभल्सको सिधा सम्बन्ध रास्वपाको नेतृत्वसँग देखिन्छ,” उनले भने, “सरकार आँखा चिम्लेर बस्न मिल्दैन, सशक्त छानबिन अनिवार्य छ ।”

भिजिट भिसाका नाममा पछिल्लो समय युवा ठगिने, बिचौलियाको जालो बलियो हुँदै गएको भन्दै खतिवडाले सुमिरे ट्राभल्स सञ्चालन गरेर संसद नै किन्ने र संसदमा उफ्रिने प्रवृत्तिलाई खतरनाक संकेतको रूपमा औंल्याए । उनले यो विषयमा पुष्टि हुने केही कागजात तथा प्रमाणहरू संसदमा पेस गर्न सकिने पनि दाबी गरे ।

यस विषयमा रास्वपाका सांसद तथा नेतृत्वबाट औपचारिक प्रतिक्रिया आइनसकेको अवस्थामा सत्ता गठबन्धनमै रहेका नेताबाट उठेको आरोपले थप राजनीतिक तरंग सिर्जना गरेको छ । विश्लेषकहरूका अनुसार रास्वपाले उठाएको “सफासुधा”, पारदर्शिता र वैकल्पिक राजनीतिका नारामा गहिरो प्रश्न उठ्न थालेको छ ।

विशेषगरी भिजिट भिसाको नाममा भइरहेको ठगी, वैदेशिक रोजगारको अवसरमा खेलबाड र युवा ठगीका घटनाहरूले समाजमा आक्रोश बढिरहेको अवस्थामा रास्वपाको नेतृत्वमाथि नै प्रश्न उठ्नु गम्भीर राजनीतिक चुनौतीका रूपमा देखिएको छ ।

साथै, यस प्रकरणले दलहरूबीचको प्रतिस्पर्धा मात्र होइन, आन्तरिक सम्बन्ध र शक्ति सन्तुलन समेत प्रभावित हुने संकेत देखिन थालेको छ । सरकारले छानबिन प्रक्रिया तत्काल अगाडि बढाउने हो भने राजनीतिको आगामी समीकरणमा ठुलो असर पर्ने प्रष्ट छ ।

यसबाहेक, रास्वपाप्रतिको बढ्दो जनआकर्षण, वैकल्पिक राजनीतिक शक्तिको छवि र विश्वासमाथि गम्भीर धक्का लाग्ने संभावना राजनीतिक वृत्तले देखाएका छन् । जनता पनि अब नेतृत्वको पारदर्शिता र चरित्रमाथि प्रश्न गर्न थालेका छन् ।

रास्वपाले यदि विश्वासयोग्य स्पष्टिकरण दिन सकेन भने, यसको नकारात्मक प्रभाव पार्टीको आगामी राजनीतिक भविष्यमा गहिरिने प्रष्ट देखिएको छ ।

Oplus_0
सम्बन्धित
Loading...