कोपिला कार्कीको ठुलेमेहर फाम : समृद्धिको बाटोमा संकटसँगको जुधाइ
१६ असार, सुनसरी । सुनसरीको रामधोनी नगरपालिका–८ स्थित ठुलेमेहरमा स्थापित कोपिला कार्कीको ‘ठुलेमेहर फाम’ स्थानीय स्तरमै आत्मनिर्भर अर्थतन्त्रको एक उदाहरण बनेको छ । माछा र बाख्रा पालनमार्फत वर्षेनी झण्डै ३५ लाख रुपैयाँ आम्दानी गर्दै आएकी कार्की पछिल्लो समय भने विभिन्न चुनौतीसँग जुधिरहेकी छन् ।
वि.सं. २०७० सालमा प्रारम्भिक रूपमा व्यवसाय सुरु गरेकी कार्कीले २०७१ मा औपचारिक रूपमा फाम दर्ता गराइन् । त्यसयता उनले आफ्ना सन्तानको शिक्षादेखि परिवारको व्यवस्थापनसम्मको सुनिश्चितता यही फामबाट गरिरहेकी छिन् । स्थानीय स्रोत र साधनलाई सदुपयोग गर्दै उनले कृषि तथा पशुपालनबाट आर्थिक समृद्धिको बाटो पहिल्याएकी हुन् ।
“यो व्यवसायले राम्रो सम्भावना देखाएको छ । यसरी राष्ट्रलाई आत्मनिर्भर बनाउन यस्ता पहल आवश्यक छन्-” कार्की भन्छिन् । तर, पछिल्लो समय लेबर नपाइनु, महँगीको चरम वृद्धि र समग्र आर्थिक संकटका कारण व्यवसायमा समस्या देखिन थालेको स्रोतको भनाइ छ ।
कुशल जनशक्ति अभावले उत्पादनमा असर पारेको छ भने बजारमा लागत बढेसँगै आम्दानीमा गिरावट आएको छ । यस्तो अवस्थामा उनले व्यवसाय घटाउनुपर्ने बाध्यता भोगेकी छन् ।
सुनसरीजस्ता कृषिप्रधान क्षेत्रमा स्थानीय युवालाई रोजगारी दिनेदेखि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने यस्ता स-साना निजी फामहरू नै दीर्घकालीन समाधान हुन सक्छन् । तर आवश्यक नीति, समर्थन, सहयोग, अनुदान र सहुलियत नपुगेमा यस्ता पहल कमजोर हुने खतरा बढ्दो छ ।
उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले यस्ता स्वदेशमै आधारित कृषिजन्य व्यवसायहरूलाई प्रोत्साहन दिनु अहिलेको आवश्यकता बनेको छ । कोपिला कार्कीको अनुभवले देखाउँछ, सम्भावना जति सुन्दर भए पनि संरचनागत सहयोगबिना दीर्घकालीन टिकाउपन गाह्रो हुन्छ ।