प्रेस काउन्सिल नेपालद्वारा प्रेस स्वतन्त्रता दुरुपयोग नगर्न आग्रह
१६ असार,काठमाडौं । सूचना प्रविधिको तीव्र विकाससँगै अनलाइन माध्यमको बिस्तार भएसँगै पत्रकारिता क्षेत्रको दुरुपयोग गर्ने प्रवृत्ति बढेको भन्दै प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रताको नाममा हुने अव्यवस्थित, अनधिकृत र गैरपेशागत गतिविधिमाथि निगरानी बढाएको जनाएको छ ।
प्रेस काउन्सिलले आज एक प्रेस अपील जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको गलत प्रयोग, अनधिकृत अनलाइन सञ्चारमाध्यमको बिस्तार, अनुमतिबिना सञ्चालित पत्रकारिता र सामाजिक सञ्जालमार्फत हुने गैरजिम्मेवार सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले प्रेस काउन्सिल ऐन, २०४८ को धारा ५ (क) अनुसार प्रेस स्वतन्त्रताको दुरुपयोग नहुने र ऐनको धारा ५ (घ) बमोजिम पत्रकार आचारसंहिताविपरीतको कार्य नहुने प्रावधान रहेको स्मरण गराएको छ ।
हालै अनलाइन तथा सामाजिक सञ्जालमा पत्रकार आचारसंहिताविपरीत सामग्री प्रकाशन तथा प्रसारण हुँदै आएको भन्दै काउन्सिलले तीव्र अनुगमन सुरु गरेको छ । साथै, अनुमति प्राप्त नभएका अनलाइन सञ्चारमाध्यम तथा व्यक्तिका विरुद्धमा कारबाही प्रक्रिया अघि बढाइने काउन्सिलले चेतावनी दिएको छ ।
यसैगरी, हालै केही जिल्लामा काउन्सिलको नाम दुरुपयोग गरी फर्जी शाखा खोल्ने प्रयास भइरहेको भन्दै काउन्सिलले त्यस्ता गतिविधिप्रति पनि सचेत रहन आह्वान गरेको छ ।
काउन्सिलले साउन १ गतेदेखि प्रेस स्वतन्त्रताको दुरुपयोग नियन्त्रण तथा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि विशेष अनुगमन अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
वरिष्ठ प्रशासनिक अधिकृत दीपक खनालद्वारा हस्ताक्षरित अपीलमा प्रेस स्वतन्त्रताको दुरुपयोग गर्ने तथा अव्यवस्थित सञ्चार माध्यम सञ्चालन गर्नेहरूलाई आवश्यक कारबाही गरिने उल्लेख गरिएको छ ।