प्रधानमन्त्री ओली र महासचिव गुटरेसबीच अर्थ विकास केन्द्रित संवाद
१६ असार, काठमाडौं । स्पेनको ऐतिहासिक सेभिया शहर अहिले विश्व नेताहरूको गन्तव्य बनेको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा सुरु भएको ‘विकासका लागि वित्त’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल स्पेन पुगेको छ ।
सोही अवसरमा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच सोमबार विशेष भेटवार्ता सम्पन्न भएको छ । यसरी भेटमा दुबै नेताले नेपाल लगायत विकासोन्मुख मुलुकहरूको दिगो आर्थिक विकास, वित्तीय स्रोतको पहुँच विस्तार र जलवायु संकटजस्ता जटिल विषयमा छलफल गरेको कुरा स्रोतले जनाएको छ ।
एक दशकमा एकपटक आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका राष्ट्र प्रमुखहरू, सरकार प्रमुखहरू तथा अर्थ विशेषज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनमार्फत विकासशील राष्ट्रहरूलाई आवश्यक वित्तीय सहयोग सुनिश्चित गर्ने रणनीतिक नीति तय गरिने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री ओलीले नेपालको सन्दर्भमा दिगो विकास, जलवायु अनुकूलन र विपद् व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको धारणा राखेका छन् । महासचिव गुटरेसले नेपालले पछिल्लो समय दिगो विकासका क्षेत्रमा देखाएको प्रयासको प्रशंसा गर्दै आवश्यक सहकार्यका लागि राष्ट्रसंघ सधैं सकारात्मक रहने बताएका छन् ।
स्पेनको सेभियामा जारी सम्मेलनले समावेशी विकास, वित्तीय समानता र जलवायु न्यायलाई विश्व एजेण्डाको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ ।