पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने निर्णयसँगै सरकारी सेवा–सुविधा फिर्ता गर्ने तयारी
१७ असार, काठमाडौं । मुलुकको राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सम्पूर्ण सरकारी सेवा–सुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । एमालेको सक्रिय राजनीतिमा फर्किएको केही दिनमै उनले यस्तो निर्णय लिएको स्रोतले जनाएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले गृह मन्त्रालयमार्फत चाँडै औपचारिक पत्र पठाएर सेवा–सुविधा नलिने घोषणा गर्ने तयारी गरेकी हुन् । संविधानअनुसार पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, आवास, सवारी, इन्धन, पत्रपत्रिका, टेलिफोन, अतिथि सत्कार, सचिवालय (उपसचिव, चालक र सहयोगी) लगायत सुविधा उपलब्ध गराइन्छ ।
यद्यपि, भण्डारीले आफ्नो कार्यकाल सकिएदेखि नै सरकारी आवास र सवारी सुविधा नलिइकन भंगालस्थित आफ्नै निजी निवासमा बस्दै आएकी छन् । बाँकी सेवा–सुविधा फिर्ता गर्नुपर्ने विषयमा उनले निर्णय गरेकी हुन् ।
एमालेको साधारण सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्किएपछि उनले सरकारी सुविधा लिनु उचित नठानेको भण्डारी निकट स्रोतको भनाइ छ । यसरी पार्टी राजनीतिमा सक्रियतासँगै पूर्वपदका आधारमा सुविधा लिनु नैतिकताहीन हुने भएकाले उनले सुविधा फिर्ता गर्न लागेकी हुन् ।