हिलाम्मे सडकमा धान रोप्दै नेताहरूको विकासको खोक्रो नारामाथि व्यङ्ग्य

0 18
Oplus_0

१७ असार, अछाम । अछाम जिल्लाको सदरमुकाम मंगलसेनको मुख्य सडक हिलाम्मे भएपछि स्थानीयहरूले सडकमै धान रोपेर विरोध जनाएका छन् । सडकको दयनीय अवस्थालाई लिएर लामो समयदेखि स्थानीयहरूले गुनासो गर्दै आए पनि कुनै निकायले सुनुवाइ नगरेपछि उनीहरूले व्यङ्ग्यात्मक तरिकाले यस्तो सांकेतिक प्रदर्शन गरेका हुन् ।

सडक निर्माण तथा स्तरोन्नतिको माग गर्दै विभिन्न समयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्यका जिम्मेवार निकाय मौन बसेपछि आजित भएका नागरिकले सडकमै धान रोपेर नेताहरूको खोक्रो विकासको नारामाथि प्रश्न उठाएका छन् ।

स्थानिय वासिन्दा भन्छन् – वर्षौंदेखि सडकको सुधारको माग गरिरहेका छौं । तर नेताहरू चुनाव आउँदा मात्रै ठूला–ठूला भाषण गर्छन्, विकासका नारा घन्काउँछन् । तर हाम्रा सडक भने हिलाम्मे, जोखिमपूर्ण र बेहाल छन् । त्यसैले हामीले यो अवस्थामाथि व्यङ्ग्य गर्न सडकमा धान रोपेका हौं ।

मंगलसेन नगरपालिका र स्थानीय तहका जिम्मेवार व्यक्तिहरूले सधैं ‘विकासको गफ’ दिने गरेका छन् । तर सदरमुकाममै यस्तो दयनीय अवस्था हुँदा पनि बेवास्ता गर्नुले राज्य व्यवस्थाको गैरजिम्मेवारीपन र संसदीय व्यवस्थाको खोक्रोपन उजागर भएको स्थानीयको आरोप छ ।

सडक हिलाम्मे हुँदा दैनिक आवतजावत गर्ने विद्यार्थी, बिरामी, सर्वसाधारण र व्यापारीहरू हैरान भएका छन् । वर्षातको समयमा त सडक हिँड्नै नसक्ने अवस्थामा पुग्ने गरेको छ । सडक मरम्मत नहुँदा सवारी दुर्घटनाको जोखिम पनि बढिरहेको छ । तर सम्बन्धित निकाय र जनप्रतिनिधिहरू समस्यातर्फ गम्भीर नहुनु दुःखद् पक्ष हो ।

सडकमा न त ढल निकासको उचित व्यवस्था छ, न त सडकमै हिलो हटाउने पहल । यस्तो बेवास्ताको विरोध गर्दै नागरिकहरुले सडकमै धान रोपेर नेताहरूलाई चुनौती दिएका छन् । यसरी विकास भाषणले होइन, कामले प्रमाणित हुन्छ ।

राज्यसत्ता, संसदीय व्यवस्था र नेताहरूको खोक्रो विकासको नारामाथि जनताले गरेको यस्तो सांकेतिक प्रतिवादले स्थानीय तहदेखि संघीय सरकारसम्मका निकायहरूलाई झक्झक्याउने काम गरेको छ ।

चुनावी समयमा नेताहरूले विकास, समृद्धि, सडक निर्माण जस्ता मिठा सपना बाँड्छन् तर चुनाव सकिएपछि जनता फेरि पुरानै समस्यामा अल्झिन बाध्य छन् । मंगलसेन बजारको सडक अवस्था त्यसको ज्वलन्त उदाहरण बनेको छ ।

सडक हिलाम्मे मात्र होइन, अछामका अन्य भौतिक पूर्वाधारहरू पनि चरम अव्यवस्था र उपेक्षाको चपेटामा छन् । तर, जनताको निरन्तर दबाब र यस्तो सशक्त प्रतिवादले विकासको खोक्रोपनमाथि गम्भीर बहस सिर्जना गरिरहेको छ ।

जनताले सडकसम्म नपाउँदा र बर्सेनि यस्तै समस्यामा अल्झिनुपर्दा नेताहरूको चुनावी नारा खोक्रो प्रमाणित भइरहेको छ । नागरिकहरू चेतावनी दिँदै भन्छन्- अब भाषण होइन, काम चाहिन्छ । यदि सडक सुधार भएन भने यस्ता प्रतिवाद अझै चर्कनेछ ।

यस्तो सांकेतिक धान रोपाई केवल सडक सुधारको माग मात्र होइन, यो राज्य व्यवस्थामाथि आमजनताको अविश्वास, असन्तोष र आक्रोशको घनिलो अभिव्यक्ति पनि हो । अब राज्य, स्थानीय तह र नेताहरू गम्भीर भएर जनताको पीडा सुनुन्, नत्र जनता व्यङ्ग्यका सीमाना पार गर्दै ठोस आन्दोलनमै उत्रन सक्छन् ।

सम्बन्धित
Loading...