चावहिलमा सुनचाँदी व्यवसायीको विरोध प्रदर्शन : भ्याट वृद्धि फिर्ताको माग
१८ असार, काठमाडौं । राजधानीको चावहिलमा आज सुनचाँदी व्यवसायीहरु आन्दोलित बनेका छन् । संयुक्त सुनचाँदी व्यवसायी संघको अगुवाइमा आयोजित जुलुस प्रदर्शन र कोण सभामा व्यवसायीहरुले भ्याट वृद्धि विरुद्ध आवाज उठाएका हुन् ।
संघका अनुसार, सुनचाँदी तथा गहना सामग्रीमा २ प्रतिशत विलासिताकर र हिरा तथा बहुमूल्य पत्थरहरुमा १३ प्रतिशत भ्याट वृद्धि गरिएको छ । जसले व्यवसाय धराशायी बनाउने खतरा बढेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
संयुक्त सुनचाँदी व्यवसायी संघका नेताहरूले सरकारले व्यवसायीको आवाज नसुने समग्र क्षेत्र नै संकटमा पर्ने चेतावनी दिएका छन् । यसरी सरकारले आर्थिक नीति सच्याएर उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।
कार्यक्रममा चावहिल क्षेत्रका व्यवसायी, संघका पदाधिकारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । संघले माग सम्बोधन नभए आन्दोलन थप चर्काउने घोषणा गरेको छ ।