एसपीलाई ‘लुटेरा’ भनेपछि जसपा नेता अशोक यादवमाथि पक्राउ पुर्जी

0 5
Oplus_0

२० असार, सर्लाही । मधेश राजनीतिमा चर्किएको प्रहरी-राजनीतिको विवाद अब कानुनी मोडमा पुगेको छ । सर्लाही जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कामाथि गालीगलौज गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

स्रोतका अनुसार केही दिनअघि अध्यक्ष यादव र एसपी खड्काबीच टेलिफोन संवादका क्रममा चर्काचर्की भएको थियो । यसरी सार्वजनिक अडियोमा यादवले एसपीलाई ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै आक्रोश पोखेका छन् । उनले स्पष्ट शब्दमा ‘तिमीहरू लुटेरा हौ’ भन्ने आरोप लगाएपछि विवाद गहिरिएको हो ।

अडियो सार्वजनिक भएपछि प्रहरीले यसलाई गम्भीर रुपमा लिँदै छानबिन थालेको थियो । सोही अनुसन्धानको सिलसिलामा यादवविरुद्ध औपचारिक रूपमा पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

यसबीच यादव पक्षले भने आफूहरूमाथि पूर्वाग्रही रुपमा मुद्दा चलाइएको आरोप लगाउँदै आएको छ । उनीहरूले प्रहरी प्रशासन नै मधेशमाथि दमनकारी शैलीमा प्रस्तुत भइरहेको आरोप लगाइरहेका छन् ।

सार्वजनिक अडियोमा एसपी खड्काले पनि यादवलाई शान्त गराउन खोजेको सुनिन्छ तर यादव अझ आक्रोशित हुँदै ‘‘एसपी सुन्, हामी यहाँ लुट्न दिने छैनौं’’ भनी चुनौती दिएको स्पष्ट सुन्न सकिन्छ ।

यो घटनासँगै मधेशमा राजनीतिक तापक्रम बढेको छ । प्रहरी प्रशासन र राजनीतिक दलहरूबीच चुलिंदो तनावले प्रदेशमा थप अस्थिरता निम्त्याउने देखिन्छ । यसरी अध्यक्ष यादवले प्रहरीलाई लुटेरा भन्नुको कुनै रहस्य हुन सक्छ । त्यो त अनुसन्धानले प्रष्ट पार्नेछ । तर हाल यादव फरार छन् भने प्रहरीले उनको खोजी तीव्र बनाएको छ ।

सम्बन्धित
Loading...