नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरियो, प्रतिपक्षको भूमिकामा सक्रिय हुने घोषणा
२० असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नउपा) ले औपचारिक रूपमा सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिँदै प्रतिपक्षको भूमिकामा बस्ने घोषणा गरेको छ । लामो समयदेखि सरकारसँग असन्तुष्टि व्यक्त गर्दै आएको नउपाले अन्ततः सत्ताको गठबन्धन छोड्ने निर्णय लिएको हो ।
तर विश्लेषकहरू भन्छन्- यो निर्णय केवल असन्तुष्टि पोख्ने सामान्य प्रक्रिया मात्र होइन । शक्ति सन्तुलनका निम्ति गरिएको रणनीतिक मोड हो भन्ने सम्भावना पनि प्रबल छ । सरकारसँग बार्गेनिङको कसी कति मजबुत बनाउने भन्ने नउपाको गुप्त राजनीतिक उद्देश्यलाई समयले मात्रै पुष्टि गर्नेछ ।
यता नउपाले भने सरकारको काम कारबाहीप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै- सरकार जनताको पक्षमा चल्न असफल भयो भन्दै आफूहरू प्रतिपक्षमा बस्ने औपचारिक धारणा सार्वजनिक गरेको हो ।
संसद्मा प्रतिनिधित्व गर्ने दलमध्ये नउपाको सरकार बहिष्कारलाई केहीले सत्ताको भित्री खेलका रूपमा हेरेका छन् भने केहीले यो साँचो अर्थमा सरकारविरुद्धको नीतिगत फरकको परिणाम मानिरहेका छन् ।
जुनसुकै पक्ष हावी होस्, तर नउपाको यो कदम सत्ताको अंकगणितमा नयाँ तरंग ल्याउने निश्चित छ । आगामी दिनमा यसले सरकार र प्रतिपक्षबीचको दूरी थप चर्काउने वा बार्गेनिङको वातावरण निर्माण गर्ने भन्ने प्रश्न खुलै छ ।