खजुरामा आधा कट्ठामै १० क्विन्टल मेवा, व्यावसायिक खेतीको सम्भावना चम्कियो
२१ असार, बाँके । बाँके जिल्लाको खजुरा गाउँमा अगुवा कृषक पदम बहादुर रानाले आधा कट्ठा जमिनमै मेवा खेती गरेर प्रशंसनीय सफलता हात पारेका छन् । विगत तीन दशकदेखि तरकारी खेती गर्दै आएका राना पछिल्लो समय मेवा खेतीतर्फ आकर्षित भएका हुन् ।
उनले यस वर्ष आफ्नै बगैंचाबाट करिब १० देखि ११ क्विन्टल मेवा उत्पादन गरी बिक्री गरेका छन् । खजुराको माटो र मौसम मेवा खेतीका लागि अत्यन्त अनुकूल रहेको बताउँदै रानाले भने- पूर्ण मेहनत र वैज्ञानिक तरिकाले खेती गरे बाँकेमै व्यावसायिक मेवाको ठूलो सम्भावना छ ।
अनुभव र मेहनतलाई मेवा खेतीमा रूपान्तरण गरिरहेका रानाको सफलताले अन्य कृषकलाई पनि नयाँ सम्भावना देखाएको छ । स्थानीयस्तरमै आम्दानी र रोजगारीको विकल्प खोजिरहेका बाँकेका कृषकका लागि यो प्रेरक उदाहरण बनेको छ ।