पाँच वामपन्थी दलको संयुक्त बैठक पेरिसडाँडामा, नयाँ राजनीतिक समीकरणको तयारी
२१ असार, काठमाडौं । देशको बदलिंदो राजनीतिक परिस्थितिबीच पाँच वामपन्थी दलहरू सनिवार काठमाडौंको पेरिसडाँडामा एकै ठाउँमा भेला भएका छन् । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा भएको संयुक्त बैठकमा वाम दलहरूबीच एकता, सहकार्य र आगामी रणनीति निर्माणबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
बैठकमा सहभागी दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । लामो समयदेखि आ–आफ्नै बाटो हिँडिरहेका यी दलहरू पछिल्लो समय बढ्दो जनआक्रोश, राजनीतिक अस्थिरता र वाम आन्दोलनको कमजोर उपस्थितिबीच नजिकिँदै आएका छन् ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै सम्भावित वाम गठबन्धन निर्माण र साझा आन्दोलनका विषयमा विस्तृत छलफल भएको स्रोतहरूले जनाएका छन् । तर, कुनै ठोस निर्णय भने सार्वजनिक गरिएको छैन ।
पछिल्ला दिनमा विभिन्न वामपन्थी नेताहरूबीच बढ्दो संवादलाई आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा नयाँ समीकरणको संकेतका रूपमा हेरिएको छ । विशेषगरी सत्तारुढ दलहरूमा देखिएको असन्तोष, प्रतिपक्षको निष्क्रियता र जनतामा चुलिँदो असन्तुष्टिले वाम दलहरूलाई फेरि सहकार्यको बाटोमा उभ्याउने संकेत देखिन थालेको छ ।
यसअघि पनि विभिन्न चरणमा वाम गठबन्धनका प्रयासहरू भएपनि लामो समय टिक्न सकेको इतिहास छैन । तर, अहिले देशको राजनीतिक स्थायित्व, भ्रष्टाचार, सामाजिक अन्यायलगायतका मुद्दामा साझा एजेन्डा तय गर्न सके वाम दलहरू फेरि निर्णायक भूमिकामा आउन सक्ने उनीहरूकै दाबी छ ।
राजनीतिक विश्लेषकहरू भन्छन् – यदि यी दलहरू केवल सत्ताको समीकरण मिलाउने बाहेक जनपक्षीय र वैचारिक मुद्दामा गम्भीर भए भने मात्रै वाम आन्दोलन पुनर्जीवित हुन सक्छ । अन्यथा अब आउने दिनमा वाम दलहरूबीच सहकार्य केवल शक्ति–सन्तुलनको खेलमा सीमित हुन्छ कि देशको राजनीतिक दिशालाई नयाँ मोड दिन्छ, त्यसतर्फ सबैको चासो केन्द्रित भएको छ ।