गिरिजाबाबु र ज्ञानेन्द्र एउटै भनेर भनेको थिएँ : देउवा

0 4
Oplus_0

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विगतका संस्मरण सुनाउँदै आफूले कुनै समय गिरिजाबाबु र राजा ज्ञानेन्द्रलाई एउटै ठानेको बताएका छन् ।

शनिबार जय नेपाल फाउन्डेशनले राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै देउवाले भने- सबैलाई थाहा छ, गिरिजाबाबुसँग मेरो झगडा भयो । उहाँले मलाई पार्टीबाट निकाल्नुभयो, मैले पार्टी खोलें । त्यसपछि ज्ञानेन्द्रले मलाई प्रधानमन्त्रीबाट हटाए । अनि मैले त्यतिबेला भनेको थिएँ — गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेर ।

देउवाले पार्टीबाट निष्काशन र ज्ञानेन्द्रबाट सत्ताच्युत गरिएको घटनालाई स्मरण गर्दै भने-एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट । त्यसैले दुःखको बेला यस्तो कुरा निस्कियो ।

तर, देउवाले गिरिजाबाबुसँगको सम्बन्ध कटुतामा मात्र सीमित नरहेको प्रष्ट पारे । उनले थपे- त्यसपछि राजाले शाही आयोग बनाएर मलाई जेल हाल्यो । मैले मान्दिनँ भनेँ । पछि छुटेपछि गिरिजाबाबुले मिल्नुपर्छ भन्नुभयो अनि हाम्रो सम्बन्ध सुध्रियो ।

देउवाले गिरिजाबाबुलाई साहसी नेताका रूपमा व्याख्या गरे। उनले भने- साँचो अर्थमा गणतन्त्र ल्याउने हिम्मत गिरिजाबाबुमा नै थियो । उहाँ साँच्चै दृढ र साहसी व्यक्ति हुनुहुन्थ्यो ।

राजनीतिक जीवनका उतारचढाव, आन्तरिक झगडा र सत्तासंघर्षको इतिहास स्मरण गर्दै देउवाले कांग्रेस भित्रको विगतलाई खुलस्त पारेका हुन् । साथै, उनले गिरिजाबाबुको योगदानलाई उच्च मूल्यांकन गर्दै सहकार्यकै कारण मुलुक गणतन्त्रमा प्रवेश गरेको बताए

सम्बन्धित
Loading...