तुलसीपुर-८ मा शशिराम बुढाथोकीको गाई फार्म: दुध उत्पादनमा आत्मनिर्भरता तर्फको उदाहरणीय पहल
२२ असार, तुलसीपुर दाङ्ग । तुलसीपुर उपमहानगरपालिका- ८ का अगुवा पशुपालक शशिराम बुढाथोकी र उनकी श्रीमती गोमा बुढाथोकीले सञ्चालन गरेको गाई फार्म दुध उत्पादनमा आत्मनिर्भरता तर्फको उदाहरणीय पहलको रुपमा स्थापित हुँदै गएको छ ।
हालै सम्पन्न निरीक्षण तथा अवलोकन कार्यक्रममा सहभागीहरूले बुढाथोकी दम्पतीको फार्ममा पुगेर आधुनिक दुध उत्पादन प्रणाली, गाई पालन व्यवस्थापन तथा स्वदेशी स्रोतसाधनको सदुपयोगबारे प्रत्यक्ष जानकारी लिइरहेका छन् । यसरी फार्ममा स्वच्छता, पोषणयुक्त आहार व्यवस्थापन र दुध संकलन प्रणाली निकै व्यवस्थित छ ।
पछिल्लो समय पशुपालन र दुध उत्पादनबाट बुढाथोकी परिवारले आर्थिक आत्मनिर्भरता मात्रै होइन, स्थानीय स्तरमै दुधको आपूर्ति सुदृढ पार्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । आफ्नै प्रयास, मेहनत र उचित व्यवस्थापनबाट दुध उत्पादनले प्रगति गरेको कुरा शशिराम बुढाथोकीले बताएका छन् ।
दुध उत्पादनसँगै उनीहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना, कृषि–पशुपालन संयोजन र नवप्रवर्तनमा पनि ध्यान दिँदै आएका छन् । फार्ममा सञ्चालित व्यवस्थित गोठ, स्वच्छ दुहुन प्रणाली र पशुको स्वास्थ्य सुरक्षामा अपनाइएको सतर्कता अन्य कृषकहरूका लागि प्रेरणा बन्ने खालको छ ।
यसरी सरकार, सम्बन्धित निकाय र संघसंस्थाबाट उत्पादनशील प्रयासलाई प्रवर्द्धन गर्ने नीति ल्याउनुपर्नेतर्फ ध्यान पुगेको देखिदैन । तर तुलसीपुर क्षेत्रलाई दुध उत्पादनको केन्द्र बनाउने अभियानमा शशिराम र गोमा बुढाथोकीजस्तो परिवारको योगदान महत्वपूर्ण मानिएको छ ।