बर्दियामा ताजिया पर्व सम्पन्न, गुलरिया बजारमा आज भव्य ताजिया यात्रा
२२ असार, बर्दिया । मुस्लिम समुदायको ऐतिहासिक एवं धार्मिक पर्व ‘ताजिया’ हिजो देशभर विभिन्न कार्यक्रमसहित मनाइएको छ । सोही अवसरमा बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा पनि ताजिया पर्व अन्तर्गत विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।
हिजो स्थानीय मुस्लिम समुदायले गुलरिया क्षेत्रका विभिन्न स्थानहरूमा ताजिया स्थापना गरेका थिए भने आज बिहानैदेखि ताजिया उठाउने र विशेष धार्मिक जुलुस निकाल्ने कार्य सुरु भएको छ । गुलरिया बजारमा ठूलो संख्यामा समुदायका मानिसहरुको सहभागिता रहेको छ ।
ताजिया पर्व इस्लाम धर्मावलम्बीहरूले इमाम हुसैनको शहादतको सम्झनामा मनाउने गर्दछन् । यस अवसरमा विभिन्न ठाउँमा ताजिया (कलात्मक मठ) निर्माण गरी जुलुसमार्फत सार्वजनिक स्थलमा पुर्याइन्छ र अन्त्यमा विधिवत रूपमा विसर्जन गरिन्छ ।
ताजिया यात्रा शान्तिपूर्ण रुपमा सञ्चालन गर्न प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यस वर्षको ताजिया पर्वमा विशेषगरी सदभाव, सहिष्णुता र धार्मिक एकताको सन्देश प्रवाह गर्ने प्रयास गरिएको मुस्लिम समुदायका अगुवाहरूले बताएका छन् । गुलरियामा आज दिनभर ताजिया यात्रा, प्रार्थना तथा विभिन्न धार्मिक गतिविधिहरूका साथ मनाइएको जनाइएको छ ।