राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँदै लघुवित्त शोषणविरुद्ध संघर्ष समिति : यो ऋण होइन, सम्मान र जीवनको लडाइँ हो

0 5
Oplus_0

३१ असार, काठमाडौं । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले आज महामहिम राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ । लघुवित्त संस्था र निजी वित्तीय संरचनामार्फत गरिब, किसान, महिला तथा श्रमिकवर्गमाथि भइरहेका वित्तीय शोषण, चर्को ब्याजदर, अपमानजनक ऋणशुल्क र दबाबपूर्ण असुली प्रणाली विरुद्धको आवाजलाई तीव्र बनाउँदै समितिले राष्ट्रपतिसमक्ष न्यायको याचना गरेको हो ।

ज्ञापन पत्रमार्फत समितिले लघुवित्त संस्थाको अनियन्त्रित मनपरी, राज्य नियामक निकायहरूको उदासिनता र ग्रामीण जीवनमाथि पारेको नकारात्मक प्रभावबारे गम्भीर ध्यानाकर्षण गराएको छ । साथै, यसप्रकारको शोषण रोक्न ठोस नीति, कानुनी व्यवस्था र जिम्मेवार नियमन प्रणाली तत्काल लागू गर्न राष्ट्रपतिको पहलको माग गरिएको छ ।

ज्ञापन बुझाउने कार्यक्रममा देशका विभिन्न भागबाट आएका पीडित प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । उनीहरूले आफूले भोगेको पीडा र लघुवित्त संस्थाहरूको दमनकारी अभ्यासको साक्षात्कार गराउँदै न्यायका लागि राष्ट्रपतिको संवैधानिक हस्तक्षेप आवश्यक रहेको बताए ।

समितिका संयोजकले भने यो केवल ऋणको विषय होइन, सम्मान र जीवनको विषय हो । यदि राज्यले गरिब जनतालाई लघुवित्तको नाममा लुट्न दिइरहन्छ भने, हामी सडकदेखि सिंहदरबारसम्म प्रतिरोध गर्नेछौं ।

यसअघि पनि समिति देशका विभिन्न जिल्लाहरूमा विरोध प्रदर्शन, जनजागरण अभियान र दबाब कार्यक्रमहरू गर्दै आएको छ । राष्ट्रपति समक्षको ज्ञापन बुझाउने कार्य यस संघर्षको एक महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

सम्बन्धित
Loading...