बर्दियामा किर्ते पूर्जाको आतङ्क: जोताधारी किसानहरुको जीवन संकटमा

0 15

२ श्रावण, बर्दिया । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–६ स्थित मैनापोखर जाने सडकको पश्चिम पट्टि पर्ने कित्ता नम्बर ४५५, ४६३, ४९४ र ४९६ को जग्गा सम्बन्धी विवादले डरलाग्दो मोड लिएको छ । लामो समयदेखि जोतभोग गर्दै आएका जगतबहादुर शाही एकाएक भूमाफियाको सिकार बनेका छन् ।

पीडित शाहीका अनुसार उक्त जग्गा उनी वि.सं.२०४८ सालदेखि जोतभोग गर्दै आएका थिए । तर पछिल्लो समय मात्रिचन्द ठकुरी, रुद्रप्रसाद चापागाई, लोकप्रकाश चापाई र धनदेवी चापाईले किर्ते पूर्जा बनाइ उनीमाथि जग्गा कब्जाको षड्यन्त्र गरेका छन् ।

सत्तामा बसेर ‘जसको जोत उसको पोत’ भन्नेहरूले हामीजस्ता निमुखामाथि अन्याय गर्न थालेका छन् शाहीले भावुक हुँदै भने- अब म मर्छु वा मार्छु भन्ने अवस्थामा पुगेको छु ।

स्थानीयहरूले बताउने गर्छन्— पछिल्लो समयमा बर्दियामा जमिन सम्बन्धी किर्ते पूर्जा बनाउने र सुकुम्बासीको नाममा कब्जा जमाउने प्रवृत्ति बढ्दो छ । यसबाट धेरै जना पुराना बसोबासी पीडित छन् ।

शाहीले राज्य संयन्त्रसँग न्यायको गुहार माग्दै आएका छन् । तर अहिलेसम्म उनले कुनै प्रकारको न्याय तथा राहत नपाएको बताउँछन् । घरवार गुम्ने अवस्था आइसक्यो, अब कहाँ जाने ? उनले जनपथसित दुःख पोखे ।

तर शाहीजस्ता किसान र जोताधारी किसानहरूलाई भूमाफियाको किर्ते खेलबाट जोगाउन राज्य गम्भीर नहुने हो भने बर्दियामा चर्को द्वन्द्व चुलिने र अप्रिय घटनासमेत घट्न सक्ने स्थानीयहरूको चेतावनी छ ।

सम्बन्धित
Loading...