राप्रपाद्वारा अख्तियारमा ज्ञापनपत्र: काण्डै-काण्डका महानायकहरूको सम्पत्ति सुद्धीकरण अनिवार्य
२ श्रावण, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष भ्रष्टाचार छानबिन र कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएको छ । राप्रपाले हाल देशभरि चर्चामा रहेका विभिन्न घोटाला र अनियमिततामा मुछिएका काण्डै–काण्डका महानायकहरूका नाम सार्वजनिक भइसकेको भन्दै, उनीहरूको सम्पत्तिको सुद्धीकरण प्रक्रिया छिटो र निष्पक्ष रूपमा अगाडि बढाइनु पर्ने माग गरेको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा राप्रपाले भन्यो- देशमा एकपछि अर्को गरी ठूला काण्डहरू बाहिर आएका छन् । तर जिम्मेवार निकायको उदासिनताका कारण दोषीहरू कानुनी दायरामा आउन सकेका छैनन् । यदि यस्ता घटनामा राज्य गम्भीर भएन भने नागरिकको व्यवस्था प्रति विश्वास गुम्ने खतरा बढ्छ ।
विश्लेषकहरु भन्छन्- भ्रष्टहरुले अख्तियारलाई पुनः सक्रिय र विश्वसनीय संस्थाका रूपमा उभ्याउने सक्दैनन् । किनभने दुधको साक्षी बिरालो राखे जस्तै हुन्छ । तर राप्रपाले भने यो ज्ञापनलाई पहिलो चेतावनीका रूपमा लिएको बताएको छ ।
ज्ञापनपत्रमार्फत राप्रपाले अगाडि भनेको छ– जनताले प्रश्न गरिरहेका छन्– किन भ्रष्टाचारको छानबिन ढिलो भइरहेको छ? किन ठूला काण्डमा संलग्न भनिएका व्यक्ति अझै निर्दोषझैं खुलेआम हिंडिरहेका छन्?
राप्रपाले आयोगलाई निष्पक्ष, निर्भीक र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कारबाही र निर्दोषलाई उन्मुक्ति दिन आग्रह गर्दै अख्तियारको निष्क्रियता नै भ्रष्टाचारको संरक्षणको कारण बन्ने चेतावनी दिएको छ ।