कृष्णसार क्षेत्र संकटमा: संरक्षणभन्दा अतिक्रमण र बेवास्ता बढी
७ साउन, बर्दिया । बर्दिया जिल्लाको खैरापुरस्थित कृष्णसार आरक्ष क्षेत्र गम्भीर संकटमा परेको छ । एकातिर संरक्षणको चुनौती, अर्कातिर राज्यको उदासीनता यस्तो दोहोरो घेरामा बाँधिएको छ कृष्णसार क्षेत्र ।
आरक्ष क्षेत्रका प्रमुख भोजराज पन्थका अनुसार कार्यालय सञ्चालनदेखि सुरक्षासम्मका विषयमा जटिलता बढ्दै गएका छन् । तर कृष्णसारको संख्या भने वृद्धि भई २४८ पुगेका छन् । यसरी जनशक्ति, स्रोतसाधन र राज्यको ध्यान निकै न्यून छ । प्रमुख पन्थले भने- यस्ता अवस्थामा संरक्षणको काम ठूलो चुनौती बन्छ ।
खासगरी अतिक्रमणको चपेटा: कृष्णसार आरक्ष क्षेत्रको सीमाना वरपर स्थानीय बस्ती र खेतीको चाप बढ्दो छ । संरक्षण क्षेत्रभित्रै अतिक्रमण हुने क्रम रोकिएको छैन । यस क्षेत्रका चुनौतीहरु निम्न प्रकारका रहेका छन् ।
प्रथमतः जनशक्ति र स्रोत अभाव: राज्यले आवश्यक स्रोत र दक्ष जनशक्ति परिचालन नगर्दा संरक्षण कार्य प्रभावित छ । द्वितीय, झारपातको नियन्त्रण समस्याग्रस्त । आरक्षभित्र फैलिरहेको झारपातले कृष्णसारको बसोबास र घाँसपातको उपलब्धता घटाएको छ । नियमित सफाइ र व्यवस्थापन नहुँदा पारिस्थितिक असन्तुलन बढ्दो छ । तृतीय, अतिक्रमणको चक्रव्यूहमा कृष्णसार । यो समस्या स्थायी समस्याका रुपमा रहेको छ । उक्त समस्याहरुको निरुपण नगरी व्यवस्थित र संरक्षण हुन नसक्ने स्रोतले बताएको छ ।
कृष्णसारजस्ता दुर्लभ वन्यजन्तु संरक्षणका लागि आरक्षलाई सक्रिय रणनीति र स्रोतसाधन आवश्यक छ । तर राज्यको चासो नदेखिएको, योजनाविहीन अवस्था र अतिक्रमणको उकालोबाट आरक्ष माथि उठ्न सकिरहेको छैन ।
संरक्षणको सवालमा हामी एक्लै संघर्ष गरिरहेका छौं । प्रमुख पन्थको भनाइमा खिन्नता मात्र होइन, गम्भीर चेतावनी पनि समावेश छ । अब पनि ध्यान नदिइए नेपालले आफ्नो जैविक सम्पदाको एक अनमोल खजाना गुमाउने खतरा बढ्दो छ ।