रञ्जिता श्रेष्ठ पार्टीबाट निष्कासित, नागरिक उन्मुक्तिमा गहिरिँदो संकट

0 5
Oplus_0

१४ साउन,काठमाडौं  । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक संघर्षले निर्णायक मोड लिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदमुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको स्रोतले जनाएको छ ।

पार्टीका संस्थापक नेता रेशम चौधरी पक्षधरहरुको भेला भएको थियो । उक्त भेलामा २१ सदस्यीय केन्द्रीय समितिमध्ये १२ जना र विभिन्न तहका निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहेको दाबी गरिएको छ । भेलामा श्रेष्ठमाथि पार्टी विधान उल्लंघन, आन्तरिक निर्णय प्रक्रिया बेवास्ता, पोखरास्थित लिचीबारी जग्गा अनियमितता प्रकरणमा संलग्नता र बिना प्रक्रिया कार्यवाहक अध्यक्ष मनोनयनलगायतका आरोप लगाइएको छ ।

यसअघि आइतबार बहुमत सदस्यहरूको बैठकले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले कुनै जवाफ नदिएको जनाइएको छ । शनिबार उनले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि विवाद चुलिएको हो । यसरी अर्को पक्षले बास्तोला संस्थापक केन्द्रीय सदस्य नै नभएको भन्दै उक्त निर्णय असंवैधानिक भएको जिकिर गर्दै आएको थियो । संरक्षक रेशम चौधरीले समेत उक्त मनोनयनलाई ‘गलत प्रक्रिया’ भन्दै असहमति जनाउदै आएका थिए ।

पार्टीको अनुशासन समितिमा रहेकी सदस्य सुनिता चौधरी आफैं आर्थिक अनियमितताको अभियोगमा थुनामा रहेको अवस्थामा यस्तो कारबाही निर्णयको नैतिकता र वैधानिकतामाथि समेत प्रश्न उठेको छ । भेलाको प्रक्रिया, भागीदार र वैधानिकता सम्बन्धमा पार्टीकै अर्का धारले असहमति जनाउँदै निर्णय खारेज हुने दाबी गरेको छ ।

नागरिक उन्मुक्तिमा देखिएको यो घटनाक्रमले दलभित्रको संस्थागत संकट, नेतृत्वको टकराव र गुटगत स्वार्थको प्रकटीकरण मात्र होइन, आन्तरिक पार्टी अनुशासनमा समेत गम्भीर प्रश्न पनि खडा गरेको छ । विश्लेषकहरूका अनुसार यो अवस्था समाधान नभएमा पार्टी थप कमजोर हुने मात्र होइन, विघटन नै हुने खतरा छ  ।

रञ्जिता श्रेष्ठको निष्कासनसँगै नाउपा भित्रको ध्रुवीकरण खुलस्त बनेको छ । अब पार्टी एकता जोगाउने कि विभाजनतर्फ उन्मुख हुने भन्ने सवाल पार्टी नेतृत्वकै दूरदृष्टिमा निर्भर रहनेछ ।

सम्बन्धित
Loading...