रेशमको अप्रत्याशित चाल: श्रीमतीलाई हटाइयो, बुवालाई अध्यक्ष बनाइयो
१५ साउन २०८२, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा नाटकीय मोड आएको छ। पार्टी संस्थापक र संरक्षक रेशम चौधरीले आफ्नै पत्नी एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई बर्खास्त गरी आफ्ना पितालाई नयाँ अध्यक्ष बनाएका छन् । बिहीबार काठमाडौँको बानेश्वरमा बसेको संस्थापकहरूको भेलाले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष चयन गरेको हो ।
लालवीर चौधरी न केवल रेशम चौधरीका पिता हुन्, तर प्रतिनिधिसभा सदस्यसमेत हुन् । राजनीतिक वृत्तमा यो निर्णयलाई ‘घरभित्रको विद्रोह’ का रूपमा हेरिएको छ ।बुधबारमात्रै रेशमले श्रीमती रञ्जितामाथि पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै कारबाही प्रक्रिया अघि बढाएका थिए। त्यसको ठीक भोलिपल्ट पितालाई अध्यक्ष बनाउने निर्णयले नेपाली राजनीतिको पारिवारिक समिकरणमा नयाँ तरंग ल्याएको छ ।
नवनियुक्त अध्यक्ष लालवीर चौधरीले प्रतिक्रिया दिँदै भने,
हामीले उहाँलाई अहिले पनि भनिरहेकै छौँ, यहाँ आएर आफ्ना कुरा राख्नुस् । तर सबैको सल्लाहमा पार्टी चलाउनुपर्छ भन्ने आग्रह नमान्दा यो अवस्था सिर्जना भएको बताए । उनले पार्टीलाई अप्ठ्यारो अवस्थाबाट निकाल्ने उद्देश्यले जिम्मेवारी लिएको स्पष्ट पारे ।
यस घटनाले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक संरचना, निर्णय प्रक्रिया र नेतृत्वको स्थायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ । राजनीतिक विश्लेषकहरू भन्छन्- यो घटनाले पारिवारिक सन्तुलन भन्दा पनि पार्टीभित्रको शक्ति संघर्षलाई उजागर गरेको छ ।
अब रञ्जिता श्रेष्ठको पक्षबाट कसरी प्रतिक्रिया आउँछ र पार्टीभित्रको यो मनोवैज्ञानिक द्वन्द्व कता मोडिन्छ भन्नेमा चासो बढेको छ ।