झलनाथको अभिव्यक्तिप्रति माधव नेपालको तीव्र प्रतिक्रिया, खनाललाई नैतिक प्रश्न

0 6
Oplus_0

१६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको पछिल्लो अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन् । खनालले हालै दिएको एक अन्तर्वार्तामा एमाले विभाजन नै गलत रहेछ भन्ने आशयमा बोलेको विषयमा नेपालले कडा चेतावनीसहितको प्रतिक्रिया दिएका हुन् ।

उहाँले बोलेको हो भने विदा गरिदिनुपर्छ, पार्टीमा बस्ने ठाउँ छैन । यसरी अध्यक्ष नेपालले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने- “अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ स्वर मिलाएर, तर यदि खनालजीले साँच्चै त्यस्तो बोलेका हुन् भने नैतिकरूपमा पार्टीमा रहने आधारै हुँदैन ।”

नेपालले खनालप्रति देखिएको असन्तुष्टिमा भावुकता भन्दा बढी पार्टी अनुशासन र वैचारिक स्पष्टताको आग्रह झल्काएको छ । उनले खनाललाई सिधा सन्देश दिंदै थपे, “अब त खुरुक्क राजीनामा दिनुपर्छ । विदा भएर जानुपर्छ ।”

झलनाथ खनालले इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका थिए, “जतिबेला एमालेबाट पार्टी विभाजन गरियो, त्यो नै गलत निर्णय रहेछ भन्ने निष्कर्षतिर म पुग्दैछु । त्यतिबेला गरिएको विद्रोह पुष्टि हुन सकेको छैन । यसको अर्थ गलत निर्णय गरियो भन्ने ठहर हुँदैछ ।”

खनालको यस्तो टिप्पणी नेकपा (एस) का आधिकारिक लाइन र इतिहासप्रति सीधा प्रश्न हो भन्ने बुझाइ धेरै नेताहरूको छ । पार्टी एकता, विगतको संघर्ष र वैचारिक पक्षमा प्रश्न उठाउनु पूर्व प्रधानमन्त्री खनालको व्यक्तिगत अनुभूति हो ।

तर, अध्यक्ष नेपालको सार्वजनिक र स्पष्ट भाषामा आएको प्रतिक्रिया यस घटनाले पार्टीभित्र गम्भीर असहमतिको अवस्था बनाएको सङ्केत दिन्छ । अब खनालले आफ्नो भनाइमा प्रष्टता ल्याउने छन् वा पार्टी नेतृत्वको आग्रहअनुसार बाटो छुट्याउने, यो बहसको केन्द्रबिन्दु बन्ने निश्चितप्राय छ ।

सम्बन्धित
Loading...