बहुविवाहलाई कानुनी मान्यता दिने तयारीप्रति उपमेयर विना भट्टराईको कडा आपत्ति
१८ साउन, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराईले बहुविवाहलाई कानुनी मान्यता दिने तयारीप्रति कडा आपत्ति जनाउँदै यो प्रस्ताव महिलामाथिको हिंसालाई वैधता दिने खतरनाक प्रयास भएको बताएकी छन् ।
मुलुकी अपराध संहिता २०७५ को धारा १७५ संशोधन गरी गर्भ रहँदा वा बच्चा जन्मिए दोस्रो विवाह मान्य हुने कानुनको मस्यौदा सरकारले ल्याउन लागेको सन्दर्भमा उनले यसले महिलाको पीडालाई झनै बढाउने चेतावनी दिइन् ।
घरमा श्रीमती हुँदाहुँदै बाहिर सम्बन्ध राख्न कानुनी छुट दिने हो भने यो समाज झन् विकृत बन्छ । यसरी समाज कस्तो बनाउने हो भन्ने सन्दर्भमा गम्भीर बन्नुपर्ने बताइन् । उनले अगाडि भनिन् -कानुनले सुरक्षाको ग्यारेन्टी दिनुपर्छ, पीडालाई वैधता होइन ।
उनले कानुनको यस्तो प्रस्ताव महिलामाथिको हिंसालाई प्रोत्साहन दिने र विवाह संस्था नै कमजोर बनाउने बताउँदै सबै महिला जनप्रतिनिधि र सांसदलाई एकजुट भएर प्रतिरोध गर्न आह्वान गरेकी छन् ।
यो विषय संसदमा ल्याइयो भने हामी संसददेखि सडकसम्म संघर्ष गर्न समेत बाध्यहुने पनि बताइन् । यसप्रति उपमेयर भट्टराईले कडा चेतावनी दिएकी छन् ।