देव गुरुङको चेतावनी : प्रचण्ड सर्वमान्य नेता, अहिले नेतृत्वमाथि प्रश्न उठाउनु अनुचित

0 4
Oplus_0

१८ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि उठेका आलोचना र नेतृत्व बदल्ने बहसलाई लक्षित गर्दै तीव्र प्रतिक्रिया दिएका छन् । सोमबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा उनले प्रचण्डलाई “सर्वमान्य राजनेता” को रूपमा चित्रण गर्दै, यस्तो अवसरमा नेतृत्वमाथि प्रश्न उठाउनु अनुचित भएको बताएका हुन् ।

गुरुङले स्पष्ट शब्दमा भने- अध्यक्षको नेतृत्व सर्वमान्य रहेको, राजनेताको रूपमा स्थापित भएको देखिँदा यो हाम्रो लागि सुनौलो अवसर हो । यस्तो बेलामा नेतृत्वको बारेमा बोलेर उफ्रनु ठीक हुँदैन ।

उनले नेतृत्व चयनको सवाल विचार र राजनीतिक सामग्रीसँग गाँसिएको प्रश्न भएको उल्लेख गर्दै, उत्तराधिकारी बनाउने काम औपचारिक निर्णयबाट होइन, आन्दोलनकै प्रक्रियाबाट तय हुने बताए । नेतृत्वमाथिको प्रश्न भनेको विचार र कन्टेन्टको सवाल हो । यसरी गुरुङले भने- उत्तराधिकारी बनाउने भनेर तोकेर हुने कुरा होइन । यो आन्दोलनका क्रममा निर्माण हुने कुरा हो ।

उनको धारणा पार्टीभित्र प्रचण्डपछिको नेतृत्वका विषयमा भइरहेका बहस र असन्तुष्टिहरूको सन्दर्भमा आएको बुझिएको छ । पछिल्लो समय माओवादी केन्द्रभित्र भविष्यको नेतृत्व संरचना र वैचारिक स्पष्टताको विषयमा विविध दृष्टिकोण सार्वजनिक भइरहेका छन् ।

गुरुङको तर्कबाट पार्टीको आन्तरिक बहस अझ गहिरिँदै गएको संकेत देखिन्छ । तर उनले स्पष्ट रूपमा वर्तमान अध्यक्षको राजनीतिक हैसियतलाई संस्थागत समर्थन गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।

पार्टीभित्रको अन्तरविरोध र भावी रणनीतिबारे स्थायी समिति बैठकमा विस्तृत छलफल भइरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

सम्बन्धित
Loading...