नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने
१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चार दिनसम्म चलेको स्थायी समिति बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आज सोमबार पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा उक्त निर्णय सार्वजनिक गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ । यसरी सापकोटाले सञ्चारकर्मीसमक्ष भने- यो कदम समकालीन राजनीतिक परिस्थिति र वाम एकताको ऐतिहासिक आवश्यकता अनुसार आएको हो ।
सापकोटाका अनुसार नेकपा (एकीकृत समाजवादी) सँग पनि मोर्चा निर्माणको सम्भावनाबारे छलफल भइरहेको छ बताए । यद्यपि त्यो विषय निष्कर्षमा भने अझै पुगेको छैन ।
पार्टी एकताको यो निर्णयसँगै माओवादी केन्द्रभित्र आन्तरिक असहमतिहरू पनि सतहमा देखिन थालेका छन् । स्थायी समिति सदस्य जनार्दन शर्माले बैठकको माइन्युटमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । यसबारे सापकोटाले भने- उहाँले हस्ताक्षर गर्ने भन्नुभएको छ तर हालसम्म नगर्नु भएको हो ।
साउन ६ गते जनार्दन शर्माले दिएको विवादास्पद अभिव्यक्तिबारे सापकोटाले छलफल अघि बढ्ने जनाएका छन् । तर शर्माले आफ्नो भनाइप्रति आत्मालोचना नगरेकोप्रति संकेत गर्दै सापकोटाले पार्टी अनुशासन र आन्तरिक छलफलको प्रक्रियामार्फत विषय सुल्झाइने बताए ।
यता विपरीत धारणा र मतभिन्नताबीच आएको पार्टी एकताको निर्णयले आगामी दिनमा माओवादी केन्द्रभित्र गहिरो सांगठनिक पुनर्संरचना र वैचारिक समन्वयको चुनौती सिर्जना गर्ने देखिन्छ । त्यसमाथि पछिल्ला दिनहरूमा माओवादी पार्टी फुट्ने चर्चा सार्वजनिक बहसमा व्यापक बनेका छन् । जसले पार्टी नेतृत्वलाई थप दबाबमा पारेको स्पष्ट देखिन्छ ।
यसरी एकातिर पार्टी एकताको नाममा वाम शक्तिको केन्द्रिकरणको प्रयास भइरहे पनि अर्कोतर्फ संगठनभित्रको असहमति र अविश्वासको छायाँ गहिरिँदै जानु माओवादी केन्द्रको लागि विश्वसनीयता र भविष्यप्रति प्रश्न खडा गरिरहेको छ ।