माओवादी केन्द्रको ‘एकता’ प्रस्ताव हावामा तीर : नेकपा प्रवक्ता प्रकाण्डको प्रष्टोक्ति
१९ साउन, काठमाडौं । भर्खरै माओवादी केन्द्रले स्थायी समिति बैठकबाट पारित गरेको नेकपासँग पार्टी ‘एकता’ गर्ने निर्णयप्रति नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले कडा प्रतिक्रिया दिएका छन् । उनले उक्त निर्णय आफूहरूको जानकारी वा छलफलबिनै एकतर्फी रूपमा गरिएको भन्दै अस्वीकार गरेका छन् ।
प्रकाण्डले स्पष्ट शब्दमा भने-माओवादी केन्द्रसँग हाम्रो पार्टी ‘एकता’बारे कुनै पनि औपचारिक वा अनौपचारिक छलफल भएको छैन । उनीहरूले जे निर्णय गरेका छन्, त्यो उनीहरूको आन्तरिक कुरा हो । हाम्रो सहभागिताबिना गरिएको एकतर्फी निर्णय मात्र हो ।
माओवादी केन्द्रले ‘एकता’को नाममा क्रान्तिकारी शक्तिहरूलाई भ्रममा पार्न खोजेको आशंका उनले व्यक्त गरे । क्रान्तिकारी कम्युनिष्ट पार्टी भनेको संसदीय राजनीति गर्ने कम्युनिष्ट पार्टी होइन । उनले थपे हाम्रो उद्देश्य वर्गसङ्घर्षमार्फत समाजवाद र साम्यवादतर्फ जाने क्रान्तिकारी बाटो हो । जसका लागि माओवादी केन्द्र अझै धेरै माथि उठ्नुपर्नेछ ।
प्रवक्ता प्रकाण्डले माओवादी केन्द्रले आफ्नो निर्णयको आधार स्पष्ट गर्न नसकेको भन्दै कटाक्ष गरे । पार्टी एकता भन्ने निर्णय किन र कुन उद्देश्यले गरिएको हो बुझ्न सकिएको छैन । यसरी हावामा तीर हानेजस्तो लाग्छ । साथै, उनले माओवादी केन्द्रले महेन्द्र राय यादव नेतृत्वको दलसँग एकता गर्ने सम्भावना बढी रहेको जिकिर गर्दै नेकपासँग ‘एकता’को प्रसंग उठाउनु केवल प्रचारमुखी चाल मात्र भएको बताए ।
यसअघि नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि समाजवादी मोर्चाको प्रयोगप्रति आपत्ति जनाउँदै प्रचण्ड नेतृत्वको आलोचना गरेका थिए । यही सन्दर्भमा प्रकाण्डको अभिव्यक्तिले अहिलेको माओवादी केन्द्रको उद्देश्य र रणनीतिमाथि गम्भीर प्रश्न उठाएको छ ।
नेकपा र माओवादी केन्द्रबीच एकता होइन, दृष्टिकोणको ध्रुवीकरण देखिएको छ । नेकपाले क्रान्तिकारी आन्दोलनको नाममा हुँदै आएका ‘संसदीय सम्झौतावादी प्रवृत्तिहरू’प्रति चेतावनी दिँदै, भविष्यमा सम्भावित एकताको आधार गहिरो सैद्धान्तिक एकता मात्र हुनसक्ने स्पष्ट संकेत गरेको छ ।