पूर्वी कमाण्ड इन्चार्ज कृष्ण अधिकारीद्वारा वसन्त नेतृत्वको नेकपा परित्याग

0 17
Oplus_0

 

पूर्वी कमाण्ड इन्चार्ज कृष्ण अधिकारीद्वारा वसन्त नेतृत्वको नेकपा परित्याग

२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनको पछिल्लो दिशाहीनता, अवसरवाद र अराजकतावादका विरुद्ध आवाज उठाउँदै नेकपा नाम गरेको वसन्त बोगटी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता तथा पूर्वी कमान्ड इन्चार्ज कृष्ण अधिकारीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आज सार्वजनिक गरिएको विस्तृत प्रेस वक्तव्यमार्फत उनले विद्यमान नेकपा नेतृत्वमाथि गम्भीर राजनीतिक आरोप लगाउँदै नयाँ क्रान्तिकारी पुनर्गठन अभियानको प्रारम्भ गर्ने जनाएका छन् ।

उनले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ कि वर्तमान नेकपा इतिहासको विपरित दिशामा अग्रसर भएको, अवसरवाद र अदूरदर्शी विचारहरूद्वारा निर्देशित भइसकेको र क्रान्तिको नाममा संगठनात्मक अराजकता तथा आत्मसमर्पणवादको अभ्यास गरिरहेको पार्टीमा अब भविष्यको कुनै सम्भावना नरहेको स्पष्ट देखिएको छ ।

पार्टीको नेतृत्व विचारहीन र संकीर्ण व्यक्तिवादी प्रवृत्तिमा ढल्किएको छ- भन्दै उनले पार्टी निर्माणको जिम्मेवारीबाट पन्छिन नसकिने भन्दै नयाँ, सिद्धान्तनिष्ठ र सर्वहारा वर्गको अग्रदस्ता पार्टीले संचालन गरेको ऐतिहासिक अभियानमा सहभागी भई अगाडि बढ्ने घोषणासमेत गरेका छन् ।

उनले पार्टीको विघटनको प्रमुख कारण नेतृत्वकै वैचारिक दरिद्रता, सांगठनिक अराजकता, आर्थिक अपारदर्शिता र रणनीतिक दिशाहीनता भएको उल्लेख गरेका छन् । साथै, उनले क्रान्तिकारी विद्रोह टार्न सकिने कुनै विकल्प बाँकी नरहेको निष्कर्षमा पुग्दै “सच्चा कम्युनिस्ट आन्दोलनको पुनर्निर्माण अभियान अब अपरिहार्य र ऐतिहासिक कार्यभार” भएको स्पष्ट पारेका छन् ।

प्रेस वक्तव्यको अन्त्यमा उनले सम्पूर्ण सच्चा कम्युनिस्ट, क्रान्तिकारी र वैचारिक अनुशासनमा आस्था राख्ने कार्यकर्ताहरूलाई आफू सहभागी हुन लागेको नयाँ अभियानमा ऐक्यबद्ध हुन आह्वान गरेका छन् ।

यस घोषणासँगै वसन्त नेतृत्वको नेकपाभित्रको अन्तर्कलह झनै सतहमा आएको छ । यश कदमलाई क्रान्तिकारी ध्रुवीकरणको नयाँ प्रयासको रुपमा विश्लेषण गरिएको छ ।

 

सम्बन्धित
Loading...