मोबाइल राख्नको लाइन, शिक्षा प्रणालीको अपमान: के हामी भविष्य बोकिरहेका छौं कि केवल फोन?
२२ साउन, काठमाडौं । काठमाडौंका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुको बिहानको दृष्य आजकल शिक्षासंग होइन । बरु मोबाइल जम्मा गर्ने पसलसंग जोडिएको छ । किताब बेच्ने पसल अब मोबाइल भण्डारण केन्द्रमा परिणत भएका छन् । जहाँ विद्यार्थीले मोबाइल बुझाउँछन्, प्रति मोबाइल रु.५ शुल्क तिर्छन्, र कक्षामा जान्छन् । यसरी घर फर्किदा मोबाइल लिन लाइन लागेको दृश्यहरु देख्न सकिन्छ ।
कलेजभित्र मोबाइल निषेध गरिएको नीतिको कारण यो अभ्यास सुरु भएको हो । तर गहिरो प्रश्न यो छ कि शिक्षाले विद्यार्थीलाई अनुशासन सिकाइरहेको हो कि केवल नियन्त्रण?
आज देखिएको भीड, धक्कामुक्की, समयको बर्बादी र पैसा तिर्दै मोबाइल राख्न बाध्य विद्यार्थीहरूको यो अवस्था शिक्षाको गम्भीर विफलता होइन त? विद्यार्थी कलेज जान्छन्, तर कक्षाभन्दा अघि मोबाइल राख्न लाइन लाग्नुपर्छ ।
कलेजको गेट बाहिरको पुस्तक पसलले पुस्तक होइन, मोबाइल राखेर व्यापार गरिरहेको छ । एक दिनमा सयौं मोबाइल जम्मा गर्दा हजारौं रुपैयाँ उठ्छ, तर विद्यार्थीलाई चाहिने वास्तविक अनुशासन, सिकाइ र मूल्य छैन ।
कलेज प्रशासन “डिसिप्लिन”को नाममा मोबाइल निषेध गर्छ, तर कुनै वैकल्पिक प्रणाली बनाउँदैन । विद्यार्थी पनि सिकाइभन्दा बढी मोबाइल बोकेर आउने मानसिक अवस्थाको शिकार छन् । र अभिभावक तथा शिक्षक वर्ग उनीहरू त मौन छन् । यसरी प्वाल परेको डुंगामा बसिरहेका यात्रु जसले न त मरम्मत गर्छन्, न त चेतावनी दिन्छन् ।
शिक्षा के हो? नियन्त्रण कि चेतना? यदि आजको विद्यार्थीलाई शिक्षा संस्थाले यस्तो ढंगले “डिल” गर्छ भने, हामीले सोच्नैपर्ने हुन्छ । हामी उनीहरूलाई चेतनशील नागरिक बनाउँदैछौं कि केवल नियम मान्ने रोबोट?
मोबाइल राखेर पढाइ सम्भव हुन्छ भने, चेतना राखेर पनि किन सम्भव हुँदैन?
अब समय आयो कि विद्यार्थी, शिक्षक, अभिभावक सबै मिलेर शिक्षाको पुनर्परिभाषा गर्ने कि? यदि यस्तै हो भने भोलिको पुस्ताले केवल मोबाइल होइन, आफ्नो भविष्य पनि पसलमै राखेर जान थाल्नेछ !