लिपुलेक घटनाले उजागर गर्‍यो साम्राज्यवादी कुटिल चाल

0 4
Oplus_0

६ भाद्र, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारत र चीनबीच लिपुलेक नाका सम्बन्धमा गरिएको सहमतिप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता माथि सो घटनाले प्रत्यक्ष आक्रमण गरेको उल्लेख गरिएको छ ।

वक्तव्य अनुसार हालै भारत र चीनले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा लिपुलेक हुँदै व्यापारिक मार्ग सञ्चालन गर्ने उल्लेख भए पनि ऐतिहासिक र प्रमाणमा त्यो भू-भाग नेपाली रहेको स्पष्ट छ । यसप्रति भारतले अस्वीकृति जनाएको अवस्थामा पनि चीन र भारत सरकारको सहमतिले पार्टीको गम्भीर ध्यानाकर्षण भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

पार्टीले यस घटनालाई साम्राज्यवादको स्पष्ट हस्तक्षेप र प्रभुत्ववादी प्रवृत्तिको हिस्सा भएको भन्दै तीव्र निन्दा गरेको छ । साथै, नेपाल र नेपाली स्वत्वलाई निषेध गर्ने कुटिल चालहरू रोक्न भारत र चीन सरकारलाई चेतावनी दिएको छ ।

वक्तव्यमा पार्टीको धारणा प्रष्ट गर्दै नेपाल सरकारको तर्फबाट गरिने राजनीतिक र कूटनीतिक पहलको कुनै औचित्य नरहेको निष्कर्ष निकालेको छ । अब सही विकल्प नखोजेको खण्डमा मुलुकले अस्तित्व नै गुमाउने खतरा रहेको जनाएको छ । यस स्थितिमा पार्टीले सम्पूर्ण देशभक्त र क्रान्तिकारी जनसमुदायलाई राष्ट्रिय मुक्ति र क्रान्तिको ऐतिहासिक प्रक्रियामा गोलबद्ध हुन आह्वान गरेको छ ।

सम्बन्धित
Loading...