महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी संगठनद्वारा तालाबन्दी

0 14
Oplus_131072

१२ भदौ, काठमाडौं । राजधानीको महेन्द्र बहुमुखी क्याम्पस आज बिहानैदेखि स्वतन्त्र विद्यार्थी संगठनले तालाबन्दी गर्दै वातावरण तातेको छ । संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा क्याम्पस प्रशासनले विद्यार्थीसम्बन्धी मागहरूलाई बेवास्ता गरेको, विभिन्न शैक्षिक तथा प्रशासनिक प्रक्रिया ढिलाइपूर्ण ढंगले सञ्चालन गरेको र विद्यार्थीमैत्री वातावरण खल्बल्याएको आरोप लगाइएको छ ।

संगठनले गत महिना प्रशासनसँग राखिएका मागहरू तत्काल सम्बोधन गर्ने सहमति भए पनि कार्यान्वयन नगरेको भन्दै असन्तोष प्रकट गरेको छ । विद्यार्थीका प्रश्नलाई हल्का रूपमा लिने प्रवृत्ति अब सह्य छैन । हामी आफ्ना अधिकार र माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिन्छौं विज्ञप्तिमा भनिएको छ ।

तालाबन्दीका कारण क्याम्पसको पठनपाठन अवरुद्ध भएको छ । बिहानैदेखि कक्षा सञ्चालन रोकिएको र प्रशासनिक कामकाज पनि ठप्प भएको विद्यार्थीहरूले बताए । क्याम्पसमा भर्ना प्रक्रिया चलिरहेको अवस्थामा तालाबन्दीले नयाँ विद्यार्थीसमेत प्रभावित बनेका छन् ।

यसैबीच क्याम्पस प्रशासनले भने आन्दोलनलाई वार्तामार्फत समाधान गर्ने तयारी भइरहेको जनाएको छ । क्याम्पस प्रमुखले विद्यार्थीहरूको मागप्रति संवेदनशील रहेको तर केही माग तत्काल कार्यान्वयन गर्न नसकिने कारणले समस्या उत्पन्न भएको प्रतिक्रिया दिएका छन् ।

विश्लेषकहरूको भनाइमा विद्यार्थी आन्दोलन शिक्षा क्षेत्रमा देखिएको संरचनागत कमजोरीको परिणाम हो । कक्षाकोठा पुस्तकालय प्रयोगशाला लगायत आधारभूत आवश्यकता अझै पुरा नभएको साथै विद्यार्थीको आवाजलाई बेवास्ता गर्ने प्रवृत्तिले पुनः आन्दोलनलाई जन्म दिएको उनीहरूको टिप्पणी छ ।

सम्बन्धित
Loading...