उच्चस्तरीय समितिद्वारा महेश श्रेष्ठ नेतृत्वको एनआरएनएलाई ८३ लाख बढी सम्पत्ति हस्तान्तरण
१३ भदौ, काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिले महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई करिब ८३ लाख ६२ हजार रुपैयाँ नगदसहित जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ। शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमार्फत शेष घले संयोजक रहेको समितिबाट नयाँ कार्यसमितिलाई सम्पत्ति बुझाइएको हो ।
समारोहमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै घलेले प्रवासी नेपालीहरूको योगदानको प्रशंसा गर्दै संस्थालाई पारदर्शिता र विश्वासका आधारमा अघि बढाउनुपर्नेमा जोड दिए । एनआरएनए केवल संगठन मात्र होइन, यो विश्वभर छरिएका नेपालीहरूको साझा परिवार हो । उनले भने ।
समितिकी सदस्य जानकी गुरुङका अनुसार निर्वाचन सम्पन्न भएपछि करिब ८३ लाख ६२ हजार रुपैयाँ बचत भएको थियो । जसलाई नयाँ समितिलाई हस्तान्तरण गरिएको हो । कम्प्युटर, प्रिन्टरलगायत जिन्सी सम्पत्ति पनि बुझाइएको उनले जानकारी दिइन् ।
नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले विगतका चुनौती र विवादहरूको स्मरण गर्दै सबै पक्षलाई एकताबद्ध हुन आह्वान गरे । उनले बद्री केसी पक्षले अक्टोबरमा महाधिवेशन गर्ने भनिएपनि त्यो सम्भव नहुने स्पष्ट पार्दै आधिकारिक एनआरएनए आफूहरू नै भएको दाबी गरे । अब हाम्रो प्राथमिकता प्रवासी नेपालीको अधिकार, हित र अन्तर्राष्ट्रिय स्तरमा परिचय स्थापित गर्नु हुनेछ उनले जाेड दिए ।
कार्यक्रममा पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले – एकताबद्ध एनआरएनएको विकल्प छैन भन्दै नागरिकता, श्रमिक अधिकार र लगानी प्रवर्द्धन जस्ता एजेन्डामा साझा आवाज आवश्यक रहेको उल्लेख गरे ।
यस्तै उपाध्यक्ष, महासचिवसहित नयाँ पदाधिकारीहरूले नागरिकता, दोहोरो नागरिकता, श्रमिक अधिकार, लगानी प्रवर्द्धन र आपतकालीन सहयोगलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । यसरी भर्चुअल माध्यमबाट पूर्वअध्यक्ष देवमान हिराचन, विनोद कुँवर, आरके शर्मा लगायत वक्ताले पनि नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई अझ लोकतान्त्रिक, समावेशी र पारदर्शी बनाउन आग्रह गरे ।
कार्यक्रममा एनआरएनए सचिव चिन्तामणि सापकोटा, कोषाध्यक्ष ठाकुर ढुंगाना लगायत पदाधिकारीहरूको समेत उपस्थिति थियो ।