बाँकेमा राहत घोटाला : आवास हरायो, जनतालाई डोरी–प्लास्टिक
६ आश्विन, बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिकामाथि विपद्ग्रस्त जनतालाई झारा टार्ने काम मात्र गरेको आरोप लागेको छ । स्थानीय सरकारमार्फत आएको राहत रकम पचाइएर आवासका लागि तोकिएको सहयोग गायब भएको गुनासो बढेको छ ।
जनताले आरोप लगाएका छन्, वास्तविक आवास दिनुको साटो गाउँपालिकाले उनीहरूलाई सेतो डोरी र कालो प्लास्टिक बाँड्यो । “हामीलाई राहत होइन, आघात दिइयो,” पीडितहरूको स्वर छ ।
स्थानीयको गुनासो छ– आवास निर्माणका लागि आएको रकम भ्रष्टाचार गरेर नजिकका व्यक्तिलाई मात्र सुविधा दिइयो । आफन्त र छिमेकीले आवास पाएका छन्, तर टाढाका पीडितलाई ५ किलोभन्दा घटाएर ३ किलोसम्म प्लास्टिक थमाइएको छ । त्यसमाथि वितरण गरिएको सामानको विल भने दश हजारसम्म देखाइएको आरोप छ ।
जनताले यो व्यवहारलाई प्रत्यक्ष भ्रष्टाचारको उदाहरण भन्दै तत्काल छानबिन र कारबाहीको माग गरेका छन् ।
“हामीलाई घर चाहिएको हो, डोरी र प्लास्टिक होइन,” एक पीडितले आक्रोश पोख्दै भने ।
एकातिर भ्रष्टाचार विरुद्ध देशव्यापी आन्दोलन चलिरहेको छ । अर्कोतिर भ्रष्टाचारका प्रमाणहरु छरपस्ट बन्दै गएका छन् । अब के हुन्छ ? भ्रष्टाचार विरुद्धको संघर्ष र बलिदानको जगमा पुरानै चेहरा दोहोरिएको सरकार बनेको छ । यसले के गर्छ ? हेर्न बाँकी नै छ ।